२०८३, कार्तिक १२ गते बिहीबार

कोरियामा प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित

कोरियामा प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित


  • मेरोभ्यूज
  • चैत्र ९, २०७८ बुधबार

  • कोरियामा प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित

    काठमाडौं । राेजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो ।

    दक्षिण कोरिया सरकारले त्यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । निर्णयअनुसार इपिएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन् ।

    इपिएस नियमानुसार पहिलो कार्यकालमा तीनवर्ष प्रवेशाज्ञा पाउँछन् । तीनवर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ । पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैँ हुनेछ ।

    हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीनवर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन् । अवधि सकिन लागेकालाई काेरियाको अध्यागमनले आफैँ एक वर्ष बसाइँ अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपिएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ ।

    दक्षिण कोरिया सरकारले यसअघि पनि गतवर्ष सन् २०२१ अप्रिलदेखि डिसेम्बरसम्म र सन् २०२२ जनवरीदेखि अप्रिल १२ सम्म प्रवेशाज्ञा अवधि सकिनेका लागि एकवर्ष प्रवेशाज्ञा थपिदिएको थियो । पहिल्यै एकवर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ ।

    यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को एक वर्ष अवधि थपिएको छ । त्यस्तै एक वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा पाँच हजार ६४४ रहेका छन् ।

    कोरोनाका कारण थपिएको एक वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ । तीन वर्षे कार्यकालमा तीन पटक र पछि थपिने एक वर्ष १० महिनाको अवधिमा दुई पटक कार्यस्थल परिवर्तन गर्न पाउने भए पनि उक्त अवधिमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाका कारण एक वर्ष थप अवधिमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर सङ्घ (एमटियु)का अध्यक्ष उदय राईले बताए ।


    प्रकाशित : बुधबार, चैत्र ९ २०७८०९:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार