२०८३, कार्तिक १२ गते बिहीबार

अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी


  • मेरोभ्यूज
  • चैत्र २९, २०७८ मंगलबार

  • अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । 

    ठूलो संख्यामा श्रम बजार प्रवेश गर्ने श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने मन्त्रालयको योजना छ । मन्त्रालयले यसअघि देखिनै विभिन्न सरकारी निकायबाट विधागत रुपमा प्रदान गरिने तालिमको प्रभावकारिता नदेखिएको भन्दै प्रतिष्ठान बनाएर सबै प्रकारका तालिम एकै संस्थाबाट प्रदान गर्नुपर्ने विषय उठाउँदै आएको थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई पुनःसंरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने बताए । 

    प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम संचालन गरेपनि परिणाममुखी नभएकाले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानूनी व्यवस्थाका लागि तयारी अघि बढाइएको उल्लेख गरे । 

    मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताए । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभूत तालिम, उद्यमशीलता विकास तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजार बढीलाई तालिम प्रदान गरिएको जानकारी दिए । तालिम संचालनको छुट्टै नीति तथा कानूनको अभावले सीप विकास तालिम व्यवस्थित हुन नसकेको उनको भनाइ छ । 

    प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप तालिम कार्यक्रमहरु अहिले विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी तथा गैरसरकारी निकायहरुले संचालन गरेपनि  लगानीअनुसार प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन । सीप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन यसलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको भनाइ छ । 


    प्रकाशित : मंगलबार, चैत्र २९ २०७८०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार