२०८३, कार्तिक १२ गते बिहीबार

अस्तव्यस्त माओवादी, पदाधिकारी चयन गर्न बसेकाे बैठक लगातार अनिर्णीत

अस्तव्यस्त माओवादी, पदाधिकारी चयन गर्न बसेकाे बैठक लगातार अनिर्णीत


  • मेरोभ्यूज
  • भाद्र ३, २०७९ शुक्रबार

  • अस्तव्यस्त माओवादी,  पदाधिकारी चयन गर्न बसेकाे बैठक लगातार अनिर्णीत

    काठमाडाैं । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ ।

    बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ ।

    गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो ।

    पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनःअपराह्न ४ बजेका लागि तय गरिएको थियो । अपराह्न ४ बजे पुनःबैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफल र मतदान जारी रहेकाले शीर्ष नेतालगायत स्थायी समितिका सदस्य व्यस्त भएको भन्दै अन्तिम अवस्थामा बैठक आज बिहान बस्ने गरी स्थगन भएको थियो ।

    शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रुप दिने जिकिर गरे ।

    ‘आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो’, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ ।’

    पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ । ‘विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन’, नेता महराले भने, ‘पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररुपमा छलफल भएको छ । अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।’ 


    प्रकाशित : शुक्रबार, भाद्र ३ २०७९०८:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार