गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विद्युत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको छ ।
कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपील गरेको छ ।
“म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपील गर्दछु । तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्,” अध्यक्ष प्रचण्डले भने ।
जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेका थिए ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।

