२०८३, कार्तिक ११ गते बुधबार

धनकुटाको निसान मन्दिरमा साना घण्टीहरू जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटाको निसान मन्दिरमा साना घण्टीहरू जोडेर बनाइएको ‘महाघण्टी’


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८३ मंगलबार

  • धनकुटाको निसान मन्दिरमा साना घण्टीहरू जोडेर बनाइएको ‘महाघण्टी’

     

    धनकुटा । धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ ।

    निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्विर खिचेर फर्कने गरेका छन् ।

    साना-साना घण्टीहरूलाई जोडेर बनाइएको यो ‘महाघण्टी’मा करिब पाच सय भन्दा बढी घण्टीहरू समेटिएका छन् ।

    यसको तौल करिब एक सय ५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए ।

    “निसान मन्दिर पुन:निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो । मन्दिर परिसरमा रहेका साना घण्टीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती घण्टी हटाउने तयारी गरिएको थियो । तर, घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि तिनलाई संरक्षण गर्ने विकल्पका रूपमा महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो”, सचिव घिमिरेले जानकारी दिए ।

    उनका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।

    घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीहरूको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थपिएको बताए ।

    शुरुमा घण्टी कसरी व्यवस्थापन गर्ने भन्ने सोचेर काम शुरु गरिएको भन्दै अहिले यही घण्टी सबैका लागि आकर्षक केन्द्र बनेको तथा मन्दिरको शोभासमेत बढाएको घिमिरेले बताए ।

    “साना घण्टीहरूलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ”, उनले भने ।

    धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ ।

    विक्रम संवत १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जङ्गी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ ।

    मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ । मन्दिरमा नेपाली सेनाकै एक पुजारी रहने व्यवस्था गरिएको छ ।

    धार्मिक आस्थासँगै ऐतिहासिक महत्त्व बोकेको निसान मन्दिर परिसरमा बनेको महाघण्टीले पुराना घण्टीहरूको संरक्षण मात्र गरेको छैन, मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षणसमेत बढाएको छ ।


    प्रकाशित : मंगलबार, कार्तिक १० २०८३०८:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार