२०८३, कार्तिक ११ गते बुधबार

विदेशबाट फर्किएका युवा भेंडापालनमा

विदेशबाट फर्किएका युवा भेंडापालनमा


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८३ मंगलबार

  • विदेशबाट फर्किएका युवा भेंडापालनमा

     

    म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पूँजी गाउँमै लगानी गरेर भेंडापालन व्यवसाय शुरु गरेका छन् ।

    पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे ।

    विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सीप तथा त्यहाँबाट आर्जन गरेको पूँजीलाई आफ्नै गाउँमा लगानी गर्ने सोच बनाएर उनले भेंडापालन शुरु गरेका छन् ।

    उनलाई सोही ठाउँका कमल मगर र अरुण मगरले साथ दिएका छन् । दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

    मनिराम, कमल र अरुणको समूहले अहिले करिब पाच सय भेंडा पालेका छन् ।

    भेंडापालनमा उनीहरूले रु. एक करोडभन्दा बढी लगानी गरेका छन् । भेंडा घान्द्रुक र मुस्ताङबाट खरिद गरी ल्याइएको हो ।

    बर्खायाममा भेंडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रमा पुग्छ ।

    लेकका खर्कमा हरियो घाँस चराएर भेंडा पाल्ने र जाडो बढेसँगै बथानलाई क्रमशः तल्लो क्षेत्रमा झार्ने गरिन्छ ।

    हिउँदमा भेंडा चराउँदै कास्की र पर्वतसम्म पुग्ने गरेको मनिरामले सुनाए ।

    “मिहिनेत गर्न सके भेंडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “विदेशमा काम गर्दाजस्तो अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टी पनि मिलेको छ ।”

    पाउद्धारका लेकाली खर्कमा चराइएका भेंडा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि माग हुने गरेका छन् ।

    खयरखोला र आसपासका हिमाली क्षेत्रमा पाइने जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेंडालाई पूजा एवं बलिका लागि उपयुक्त मानिन्छ । चाडपर्वका समयमा मासुका लागि यस्ता भेंडाको माग हुन्छ ।

    गोठ र खर्कबाटै भेंडा बिक्री हुने गरेका छन् । एउटा भेंडा रु. २० हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेको मनिरामले बताए ।

    यस वर्षको जनैपूर्णिमा पर्वमा खयरभारानी क्षेत्रमा लागेको मेलामा बलिका लागि ५० भन्दा बढी भाले भेंडा र बोका बिक्री भएका थिए ।

    बस्तीबाट टाढा लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेंडापालन गर्न भने सहज छैन ।

    चितुवा र ब्वाँसोबाट भेंडाबाख्रा जोगाउनु मुख्य चुनौती हो । वन्यजन्तुको आक्रमणबाट बथानलाई जोगाउन उनीहरूले भोटे कुकुर पालेका छन् ।

    दिनभर भेंडासँगै चरन क्षेत्रमा जाने कुकुरले रातको समयमा खर्कमा गोठको सुरक्षा गर्ने गर्छन् ।

    भेंडापालनसँगै मनिरामको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसले पशुपालनसँगै ग्रामीण पर्यटनलाई जोड्ने अवसर सिर्जना गरेको छ ।

    खर्कको अवस्था र मौसमअनुसार भेंडाबाख्राको बथानसहित गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने चलन पाउद्धारमा पुस्तौँदेखि चलिआएको छ ।

    पुराना पुस्ताका किसानको निधन तथा युवाको शहर र विदेश पलायनसँगै यस्तो घुम्ती गोठको परम्परा क्रमशः हराउँदै गएको अवस्थामा मनिरामसहितका युवाले यसलाई निरन्तरता दिने प्रयास गरेका छन् ।

    “गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ”, कमलले भने, “परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो ।”

    उनीहरूका अनुसार भेंडाबाख्रा बिरामी हुँदा औषधोपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक छ ।

    स्थानीय तह र सम्बन्धित निकायबाट यस्ता क्षेत्रमा सहयोग पाए भेंडापालनलाई थप विस्तार गर्न सकिने उनीहरूको अपेक्षा छ ।

    विदेशबाट फर्किएका युवाले आफ्नै गाउँको वनपाखा र खर्कमा श्रम तथा पूँजी लगानी गरेर शुरु गरेको भेंडापालनले स्वरोजगार सिर्जना गर्नुका साथै लोपोन्मुख बन्दै गएको घुम्ती गोठको परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ ।


    प्रकाशित : मंगलबार, कार्तिक १० २०८३०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार