
गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई गोरखा भीमसेन गाउँपालिका–माझथोकमा स्थानीय जनताले भव्य स्वागत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालै तराई–मधेसमा सञ्चालन गरिएको अभियानप्रति जनताको साथ उत्साहजनक रहेको स्मरण गर्दै उनले भने, “मधेसको एक जना विज्ञले अब मधेसी जनताले माओवादी केन्द्रलाई नै साथ दिन्छन् भन्ने विश्वास व्यक्त गरे ।”
त्यसैगरी उनले मध्यपहाडी लोकमार्गको बैतडीदेखि शुरु गरिएको अभियानमा लाखौं जनता जोडिएको र पार्टीप्रति जनताको उत्साह अझै उच्च बनेको उल्लेख गरे ।
अभियानको क्रममा गाउँ–गाउँमा भएको सहभागिताले माओवादी केन्द्रप्रति जनताको आस्था र विश्वास बलियो बनेको अध्यक्ष प्रचण्डले बताए ।
माझथोकमा नेपाली काँग्रेस परित्याग गरी ईश्वर बराम र लिलाधर बगाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै नयाँ ऊर्जासहित अघि बढ्ने विश्वास व्यक्त गरे ।


