काठमाडाैं । नेकपा (एमाले)ले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशाैं राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिङ्गो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान गरेकाे उनले बताए ।
बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । बोहराले आजै सपथ लिए । महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र यसले मुलुकलाई नयाँ दिशानिर्देश र पार्टीलाई सबल बनाएको बैठकले निष्कर्ष निकालेको उनले बताए ।
बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ । एमालेले विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाएकाे छ ।

