काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।
समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष बिनोद श्रेष्ठले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आबद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागी थिए ।
समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका अवसर सिर्जना, जीवनस्तर विकास तथा उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताको विषय, सवाल, मुद्दामा आधिकारिक रुपमा सहकार्य भएको सम्भवतः यो पहिलो अभ्यास भएको बताए । यसप्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक समृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको उल्लेख गर्दै उनले मजदुर र मालिक होइन, यी दुई आर्थिक समृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको बताए ।
केन्द्रका अध्यक्ष श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध ‘बाघ र बाख्रा’ जस्तो द्वन्द्वात्मक परिस्थितिको स्मरण गर्दै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध ‘पानी र माछा’ भएको बताए । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदातासँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको उनको भनाइ थियो ।

