२०८३, कार्तिक १३ गते शुक्रबार

चैते धान खेतीतर्फ आकर्षण बढ्दै

चैते धान खेतीतर्फ आकर्षण बढ्दै


  • मेरोभ्यूज
  • आषाढ ४, २०८१ मंगलबार

  • चैते धान खेतीतर्फ आकर्षण बढ्दै

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् ।

     तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएको छ । चौधरी त्यही धान भित्र्याउने तयारीमा छ । बर्से धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उनले बताए ।

     “खेतीलगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढिमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छु”, उनले भने,“खान मिठो र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”

    चौधरी मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् ।

    यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कारस्वरुप नगद सहयोगसहित सम्मानीत गरेको छ ।

    पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।

    पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहनस्वरुप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उनले बताए ।

    घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए ।

     “भजनी र टीकापुर नगरपालिकाका साथै जोशिपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षात्मा डुबान हुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कि चुहान नगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।

    डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ ।

    कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ ।

    यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्ष्येपण छ ।

    “चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस समयमा बाढी तथा डुबानसमेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ”, ज्ञान केन्द्र प्रमुख शर्मा भन्छ,“यसका अतिरिक्त रोग, किराको प्रकोपसमेत कम हुन्छ ।

     पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।

    ” चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइहरको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुई पटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमिआउने अपेक्षा गरिएको छ ।


    प्रकाशित : मंगलबार, आषाढ ४ २०८११०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार