२०८३, कार्तिक १३ गते शुक्रबार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८३ शुक्रबार

  • कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश


    सुनसरी । बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए ।

    अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन ।

    विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यतिबेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ ।

    उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकै खेती गर्दै आएका थिए ।

    तर अहिले सप्तकोशी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरुको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।

    महतोले अहिले करिब दस कट्ठा जग्गा भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिन्डीलगायत मौसमी तरकारी खेती गरेका छन् ।

    त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट टमाटर खेती गरेका छन् । बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाएको उनले बताए ।

    “पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोशी नदीले कटान गरेर लग्यो । अहिले आफ्नो जग्गा छैन, अरुको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु”, उनले भने, “अहिले खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्छिन् । मुख्य सिजनमा आवश्यकता परे मजदूर ल्याउँछु ।”

    बीउ, मल, औषधि, मजदूरीमा वार्षिक रु. दुई लाखसम्म खर्च हुने गरेको छ ।

    खर्च कटाएर वार्षिक रु. सात लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । “यही आम्दानीले घरपरिवार धानेको छु”, उनले भने ।

    खेतीबाट भएको आम्दानीले घरपरिवारको खर्चसँगै तीन छोराछोरीको दैनिक पढाइ खर्च तथा अन्य आवश्यकता पूरा गर्दै आएको उनले बताए । उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन ।

    धनकुटा, धरान, उदयपुर, इनरुवालगायतका ठाउँबाट व्यापारी खेतबारीमै आउने र उत्पादित टमाटर तथा अन्य तरकारी खरिद गरेर लैजाने गरेका छन् ।

    गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि महतोले अन्य तरकारीभन्दा त्यसलाई प्राथमिकता दिएका छन् । टमाटरको मूल्य सिजनअनुसार फरक हुने भएकाले यसबाट राम्रो आम्दानी हुने उनले बताए ।

    खेतबारीबाटै प्रतिकिलो रु. ४० मा बिक्री हुन्छ, कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाएका बेला रु. ८० देखि ८५ सम्म गोलभेँडा बिक्री हुने गरेको उनको भनाइ छ ।

    “पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि थिए । कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरनस्थल छैन ।

    अहिले गाईभैँसी पाल्न पनि छाडियो”, महतोले भने, “अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको छु ।”

    बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ । अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन बगाएर लैजाला भन्ने डर छ उनलाई ।

    “आफ्नै जग्गा भएको भए तरकारी खेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो, अहिले खेती गर्न आफ्नो जमिन छैन”, उनले दुःखेसो गरे ।

    बर्खा शुरु भएपछि श्रीलङ्का टप्पुका बासिन्दाले बाढी र कटानको त्रास बर्सेनी भोग्दै आएका छन् । बर्सेनी खेतीयोग्य जमिन साँघुरिँदै जानु, घरनजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ ।

    खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहिनेत बगाइदेला कि भन्ने चिन्ताले सताउने गरेको महतो बताउँछन् ।

    करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ ।

    धान, मकै, गोलभेँडा र अन्य तरकारी खेती, पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन् ।


    प्रकाशित : शुक्रबार, कार्तिक १३ २०८३०८:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार