२०८३, कार्तिक १३ गते शुक्रबार

माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८३ शुक्रबार

  • माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

     

    इलाम । इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ ।

    माङसेबुङ–३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो ।

    किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

    त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।

    माङसेबुङ गाउँपालिकाले स्थानीय राजेन्द्र खजुमको अध्यक्षतामा निर्माण समिति गठन गरी सालिक निर्माणलाई तीव्रता दिएको हो । तीन रोपनी दुई आना क्षेत्रफलमा उद्यानसहितको फाल्गुनन्दको सालिक निर्माण शुरु गरिएको अध्यक्ष खजुमले बताए । उनका अनुसार सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुनेछ ।

    सालिक निर्माणका लागि माङसेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा रु. ३६ लाख बजेट विनियोजन गरेको छ । यसअघि गत आर्थिक वर्ष २०८२/०८३ मा रु. २५ लाख बजेट विनियोजन गरेको थियो ।

    सो बजेटबाट पार्कसहित सालिक राख्नेस्थल व्यवस्थापन तथा सालिकको आधार तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

    किरात धर्म, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनसँगै माङसेबुङ गाउँपालिकालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्कसहितको सालिक निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    ‘माङसेबुङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल हो । पछिल्लो समय वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मभूमि पनि हो,” उनले भने, “यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने योजनाका साथ काम गरिरहेका छौँ ।”

    सालिकसँगै परिसरमा आवश्यक पूर्वाधार निर्माण, सौन्दर्यीकरण तथा पर्यटकीय आकर्षणका संरचनासमेत विकास गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष खजुमले बताए ।

    पार्कमा फाल्गुनन्दको पूर्ण कदको एउटा ठूलो सालिक र वरिपरि साना आठवटा सालिक राखिनुका साथै पर्यटकलाई आराम गर्ने ठाउँ, मनोरञ्जनका लागि काठेपिङ, च्याब्रुङ, साकेला लगायत सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने ठाउँलगायतका संरचना निर्माण गरिने उनको भनाइ छ ।

    “फाल्गुनन्दको सालिक विश्वमा धेरै ठाउँमा निर्माण गरिएका छन् । तर, यहाँ निर्माणाधीन सालिक अहिलेसम्म निर्माण भएकामध्ये सबैभन्दा अग्लो र ठूलो हुनेछ,” उनले भने, “एक विशाल सालिकसँगै वरिपरि आठवटा अन्य ससाना सालिकहरू पनि राखेर अझ आकर्षक बनाइनेछ ।”

    आफ्नो क्षेत्रमा किराती समुदायका राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक निर्माण हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

    यसले माङसेबुङको मात्र नभइ कोशी प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने स्थानीय किसन सुब्बा बताउँछन् ।

    “पार्कसहितको फाल्गुनन्दको अहिलेसम्मकै ठूलो सालिक निर्माणले माङसेबुङको मात्र होइन, कोशी प्रदेशकै महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नेछ,” उनले भने, “निर्माणाधीन दमक–चिसोपानी सडकले पूर्णता पाएपछि यहाँ आवत-जावत गर्न समेत सहज हुनेछ ।”

    फाल्गुनन्दलाई किरात धर्मावलम्बीहरूले महागुरु एवं किरात धर्मदर्शनदाताको रूपमा मान्ने गर्दछन् । फाल्गुनन्दको जन्म विक्रम संवत १९४२ कात्तिक २५ गते माङसेबुङ गाउँपालिका–२, इभाङ चुक्चीनाम्बामा भएको थियो ।

    भाषा, लिपि, संस्कार, संस्कृति एवं किरात समाज सुधारका लागि फाल्गुनन्दले विक्रम संवत १९८८ वैशाख १४ गते सात बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरेका थिए ।

    ‘सत्यधर्म मुचुल्का’मार्फत समाज सुधारका अभियानलाई नयाँ पुस्तासम्म पुर्याउने अभियान्ता फाल्गुनन्दको निधन विक्रम संवत २००५ चैत २० गते पाँचथरको लब्रेकुटीमा भएको थियो ।

    उनले किरात समुदायको धार्मिक, सामाजिक एवं सांस्कृतिक जागरणमा महत्त्वपूर्ण योगदानको कदर गर्दै नेपाल सरकारले विक्रम संवत २०६६ मङ्सिर १६ गते नेपालको १६ स्थानमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

    फाल्गुनन्दको जन्मस्थल र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मस्थल नजिकै निर्माण शुरु गरिएको यो योजनालाई महत्त्वका साथ हेरिएको छ ।

    माङसेबुङलाई किरात धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलका रूपमा लिइन्छ ।


    प्रकाशित : शुक्रबार, कार्तिक १३ २०८३०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार