२०८३, कार्तिक १२ गते बिहीबार

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय


  • मेरोभ्यूज
  • आश्विन २८, २०८१ सोमबार

  • बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय

    दाङ । सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ ।

    दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो ।

    जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे । कक्षा दसमा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती कात्ने, दुनाटपरी र थ्रेडिङ गर्ने सीप सिक्न पाउँदा खुसी व्यक्त गर्छिन् ।

    बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्वपूर्ण रहेको उनी बताउँछिन् । परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको उनको भनाइ छ ।

    विद्यालयमा किताबी ज्ञान मात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुन्छ । बजारबाट निर्माण गरेका बत्ती, दुनाटपरी प्रयोग गर्ने भएको हुँदा अब आफैँले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउने कक्षा आठमा अध्ययनरत विद्यार्थी सङ्गीता शर्मा बताउँछिन् ।

    यस्तै थ्रेडिङ गर्ने सीप पनि अहिले सिकियो भने भोलिका दिनमा व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने उनको धारणा छ । “पढेर मात्र नहुने हुँदा घरायसी काम काज पनि जान्न र सिक्ने अवसर पाएपछि जीवन जिउन धेरै सहयोग पुग्छ”, विद्यार्थी भन्छन् ।

    विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रबार विभिन्न सीपयुक्त कार्यमा सहभागी हुँदै आएको उनीहरू बताउँछन् । कक्षा दसमा अध्ययनरत अर्का विद्यार्थी दुर्गा रोका आफूलाई मन पर्ने ब्यूटीसिएन भएको हुँदा अहिले थ्रेडिङ गर्ने सीप विद्यालयमै सिक्दै आएको र धेरै कुरा आफूले सिकिसकेको उनको भनाइ छ ।

    विद्यार्थीलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताइन । विसं २०८१ मा विद्यालयको शैक्षिक क्यालेण्डरमै समावेश गरेर प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ ।

    जसलाई(बुक फ्रिडे)का रूपमा लिइएको छ । विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा यो अभियान सुरु गरेको उनको भनाइ छ । विद्यार्थी पनि निकै उत्साहित भएर सहभागी हुने गरेका छन् ।

    सीप भएका शिक्षक र शिक्षिकाले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै सीप सिकाउने गरेका छन् । पढ्न–लेख्ने जान्ने तर घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नुपर्छ, सीप सिक्नुपर्छ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक पौडेल बताउछिन ।

    पछिल्लो समय बत्ती कात्ने, दुना टपरी बनाउनेजस्ता सीप पुस्तान्तरण नहुँदा समस्या हुने गरेको हुँदा यसले व्यक्ति, परिवार, समुदायलाई नै फाइदा पुग्ने उनको भनाइ छ ।

    त्यस्तै अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको उनले बताइन ।

    विद्यालयले कक्षा छदेखि दससम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ ।

    घोराही उपमहानगरपलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एक शुक्रबार नगरभित्रका विद्यालयमा बुक फ्रिडे बनाई विद्यार्थीलाई सीप सिकाउन आग्रह गरेअनुसार सरस्वती माविले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।


    प्रकाशित : सोमबार, आश्विन २८ २०८११०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार