दोलखा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा स्वागत गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) दोलखा जिल्ला समन्वय समिति र कम्युनिष्टहरुको एकता धुर्बिकरण समितिको पुनर्मिलन कार्यक्रममा विप्लप नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा सेक्रेटरीसहित एक दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् ।
पुनर्मिलन कार्यक्रममार्फत माओवादीमा समाहित हुनेहरुमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपालीलगायत रहेका छन् ।
माओवादी केन्द्रमा समाहित भएका नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज विशाल खड्का, नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन, कुलबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठलगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
पुनर्मिलन कार्यक्रममा बोल्दै नेता अर्जुन योगीले माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउन आफुहरु माओवादी केन्द्रमा समाहित भएको जानकारी दिए ।
माओवादी शक्तिहरुबीच एकताको आवश्यकता औँल्याउँदै उनले पालिका र गाउँस्तरमा समेत पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।
पुनर्मिलन कार्यक्रममार्फत् माओवादी केन्द्रमा समाहित भएका नेताहरु यसअघि पनि माओवादी पार्टीमा सक्रिय थिए । पार्टी विभाजन पछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा लागेका उनीहरु वर्षौँ पछि माओवादी केन्द्रमा समाहित भएका हुन् ।

