भजनी,कैलाली । यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो हुन । २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा)चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएको हो ।
ठेला चलाएरै टीकापुरमा घर बनाएका उनमा दिक्दारी देखिन्छ । कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्छ ।
विगतमा उनी दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्थ्यो । “हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ”, उनले भने, “कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ ।” काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदूरहरुको भनाइ छ ।
चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउनुहुन्छ ।
“दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो”, उनले भने, “खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ ।” ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउछ ।
एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ । अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसार-पसार गर्न थालेपछि ठेला मजदूर मर्कामा परेका हुन् । उसो त केही वर्ष अगाडि मात्रै टीकापुरमा एकसय बढी ठेला मजदूर थिए । हाल अधिकांश विस्थापित भइसकेका छन् । ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन् ।
“खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदूरी गर्नलाई नियमित काम पाइँदैन”, अर्का मजदूर सीताराम चौधरी भन्छ, “खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, के लगाउने, के ले छोराछोरीलाई पढाउने ?” जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक रु ५० हजारसम्म कमाउन्थ्यो ।
दैनिक रु पाँच हजारसम्म कमाएको अनुभव उनको छ । १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आएका उनले विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा हुन्छ ।
स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदूरको माग छ । जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ ।
“हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामथ्र्य छैन”, ठेला मजदूर पर्देशी चौधरी भन्छ ।

