काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानले फरक मत राखेका छन् ।
प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा नेता न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरकमत राखेका हुन् । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्दसत्रको हललाई उक्त जानकारी गराए ।
नेता न्यौपानले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तरविरोध, वर्ग सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका छन् ।
पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै उनले पार्टी तीव्ररुपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने फरक मतमा राखेका छन् ।
शान्तिप्रक्रियामा आएपछि तीन पटक पार्टीले सरकारको नेतृत्व गरेको, पटकपटक पार्टी सरकारमा सहभागी भएको, एउटै पात्र पटकौँ मन्त्री बनेको भएपनि जनताले अनभूत हुने गरी गुणात्मक काम हुन नसकेको भन्दै नेता न्यौपानेले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गरेका छन् ।
फरक मतमा नेता न्यौपानले एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय सही नभएको, एमालेसँग चुनावी तालमेल, कार्यगत एकता सही भए पनि ‘छापामार शैली’मा पार्टी एकता गर्नु सैद्धान्तिक र प्रक्रियागतरुमपा गलत भएको टिप्पणी गरेका छन् ।

