२०८३, कार्तिक १२ गते बिहीबार

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन


  • मेरोभ्यूज
  • मंसिर १६, २०८१ आइतबार

  • प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

    भजनी, कैलाली । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।

    बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।

    भजनी–५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन लाएका हुन् ।

    सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए ।

    बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीयरुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ ।

    झोला बनाउने उपकरण खरिद गर्न मात्रै रु ८० लाख खर्च भएको विकले जानकारी दिए ।

    “आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मानसिकताले समयको आवश्यकताअनुसार उद्योग सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “स्थानीय सरकारको साथ सहयोग भयो र प्लास्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ ।”

    दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताए ।

    उनले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहेने उल्लेख गरे ।

    “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।

    यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो”, कार्कीले भन, “हामीले प्लास्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ ।”

    भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गरे ।

    प्लास्टिकको झोला बजारमा प्रतिकेजी रु तीन सयमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उनको भनाइ छ ।

    स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताए ।

    “धनगढीमा प्लास्टिक निषेध गरिएको छ । त्यहाँ हाम्रो उद्योगको झोलाको माग बढिरहेको छ”, उनले भने, “स्थानीय बजारमा व्यापारी महँगोमा झोला खरिद गर्न चाहिरहेको छैन ।”

    गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

    तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास उनीहरुको छ ।


    प्रकाशित : आइतबार, मंसिर १६ २०८१०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार