काठमाडाैं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएकाे छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतकाे सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएकाे छ ।
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरुले बताएका छन् ।

