लस एन्जलस : तीव्र गतिको हुरी फर्कनुअघि आपत्कालीन उद्धारकर्ताहरूले लस एन्जलसको खतरनाक डढेलो निभाउने प्रयास पाचौँ दिन पनि जारी राखेका छन् । हालसम्म १६ जनाको मृत्यु भएको थाहा भएको छ भने करिब एक दर्जनको अवस्था अज्ञात छ।
सबैभन्दा ठूला दुई आगलागी इटन र प्यालीसेड्स अझै पनि नियन्त्रणबाहिरै छन् । त्यस क्षेत्रमा हजारौँ अग्नि नियन्त्रकहरूलाई खटाइएको छ। विमानबाट पानी र आगो निभाउने सामग्री खसाएर जनधनको रक्षा गर्ने प्रयास गरिएको छ।
अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन् ।
थप एक हजार एकडमा विस्तार भएको र ब्रेन्टउड क्षेत्रतर्फ अघि बढिरहेको प्यालीसेड्स डढेलोलाई रोक्न अग्निनियन्त्रकहरूले आगलागी भइरहेको पहाडी क्षेत्रमा पानी र आगो निभाउने 'फायर रिटार्डेन्ट' खसाइरहेका छन्।
अग्नि नियन्त्रकहरूले तीव्र गतिमा अघि बढिरहेको आगोको लप्का नियन्त्रण गर्न सङ्घर्ष गरिरहँदा अधिकारीहरूले ती सामाग्रीहरू खासै प्रभावकारी नभएको भन्दै आक्रोशको सामना गर्नु परिरहेको छ।
राति हावाको वेग अझै बढ्ने अपेक्षा गरिएको छ र त्यसले डढेलोलाई थप शक्तिशाली बनाउन सक्ने चिन्ताहरू व्यक्त भइरहेको छ ।
अग्नि नियन्त्रकहरूले झन्डै २३ हजार एकडमा विस्तार भएको प्यालीसेड्स डढेलो नियन्त्रणमा जम्मा ११ प्रतिशतमात्रै सफलता हात पारेको बताइएको छ । तर उक्त डढेलो मेनडभील क्यानयनमा फैलिएको छ जसले गर्दा ब्रेन्डउड क्षेत्रलाई खाली गराउन आदेश दिइएको छ ।
खाली गराउनुपर्ने क्षेत्रमा गेटी सेन्टर पनि अवस्थित छ। पहाडको टुप्पोमा अवस्थित उक्त म्युजिअममा १ लाख २५ हजार भन्दा बढी कलाकृति छन् जसमा भान गोफ, रेमब्रान्ट, रुबेन्स, मोने र डेगसका कलाहरू पर्छन्। हालसम्म सो भवनमा क्षति पुगिसकेको छैन ।
दोस्रो ठूलो डढेलो इटनले १४ हजार एकर क्षेत्रफलमा आगलागी गराएको छ र त्यो जम्मा १५ प्रतिशत नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकहरूले दुई साना डढेलो केनेथ र हर्स्टलाई भने नियन्त्रणमा लिएका छन् । तर न्याश्नल वेदर सर्भिसले सान्टा आना हुरी शनिवार र आइतबार पुन तीव्र वेगसहित आउने भन्दै चेतावनी दिएको छ ।

