समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले समाजवादीको भ्रुण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताएको हो ।
विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको भ्रुण रोप्ने काम गरिएको उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले भने – ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रुण रोप्ने काम गरिएको छ ।’
वि सं २०६४ मा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताए ।
‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं’– अध्यक्ष प्रचण्डले भने – ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।’
आफूहरुले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दै केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले थने – ‘दोस्रो पटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौं । तर पार्टी एकताबद्ध नहुँदा र आम कार्यकर्ता र जनताको पंक्तिमा विश्वास डगमगाउँदै जाँदा हामीले गरेका राम्रा काम जनतामा स्थापित गर्न सकिएन ।’
यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरु हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उनले स्पष्ट पारे ।
आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानून निर्माणलाई अगाडि बढाउनेलगायतका महत्वपूर्ण काम अघि बढाइएको बताए ।
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उनले भने – ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन पनि आधार तयार गरेको छ ।’
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षडयन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गरे ।
सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उनले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताए ।
‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भने – ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’
उनले माओवादी निकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भने – ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोररुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’
प्रकाशित :
सोमबार, मंसिर २४ २०८११०:४२
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।