२०८३, कार्तिक ११ गते बुधबार

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार


  • मेरोभ्यूज
  • मंसिर २५, २०८१ मंगलबार

  • बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

    धरान, सुनसरी । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आएको छ ।

    विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएको हो ।

    श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेको छ ।

    कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिए । अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए ।

    गोलभेँडाबाट वार्षिक रु ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक रु १० लाख जति खर्च हुने गरेको उनले बताए । श्रीराम भने, “कृषि कर्म हाम्रो पुर्खौली पेसा हो । सुरुवाती समयमा सागसब्जी, आलु, कोपीलगायत खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ ।”

    गोलभेँडा अहिले थोकमा प्रतिकेजी रु एक सयमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए ।

    “गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति गर्यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि पर्यो । बाढीले करिब रु तीन लाख बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ”, श्रीरामले भने ।

    गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उनले बताए । “उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफैँ गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउछ । यहाँ आउनेलाई बजार मूल्यभन्दा रु २० कम ने गरेका छौँ”, श्रीरामले भने ।

    धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्रलगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए । गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाए ।

    परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उनले बताए । गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए ।

    उनका अनुसार वार्षिक छ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ । अहिले करिब २० बिघा क्षेत्रफलमा कृषि खेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपी, बोडीलगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए ।

    जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

    “जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ”, उनले भने ।

    उनका अनुसार गत असोजमा आएको बाढीले तीन सय ५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।

    सिँचाइ सुविधा, मलको उपलब्धतालगायतका कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताए ।

    “यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् । श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो”, उनले भने ।

    नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारी खेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताए ।


    प्रकाशित : मंगलबार, मंसिर २५ २०८१०३:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार