२०८३, कार्तिक १२ गते बिहीबार

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै


  • मेरोभ्यूज
  • पौष २, २०८१ मंगलबार

  • कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

    घोडाघोडी, कैलाली । यहाँका थारू समुदायले लवाङ्गी पूजाको तयारीमा जुटेका छन् ।

    नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।

    थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ ।

    लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भनेभजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोगव्याधि नलागोस् भनेर पूजा गरिन्छ । भजहर पूजा ग्रीष्मऋतुको पूर्वसन्ध्यामा हुने गरेको छ । अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको महत्व छ ।

    विशेषगरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ । “पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देउथान घोडाघोडीलाई मानिन्छ ।

    घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरीघोरा देउथानका रूपमा मान्दै परापूर्वकालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको चौधरीले बताए । देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो ।

    यस क्षेत्रमा परापूर्वकालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरीघोरा देउथान हो मन्दिर होइन ।

    लवाङ्गी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भलमनसा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।

    पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशुबलि दिने गरिन्छ । मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भलमनसाहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।

    घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ ।

    पूजाका अवसरमा घोडाघोडीमा थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ ।

    राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, पौष २ २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार