२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी महाधिवेशन
माओवादीले केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्व कसरी गराउँदै छ ?

माओवादीले केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्व कसरी गराउँदै छ ?


  • मेरोभ्यूज
  • पौष १७, २०७८ शनिबार

  • माओवादीले केन्द्रीय समितिमा समावेशी प्रतिनिधित्व कसरी गराउँदै छ ?

    काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)ले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ ।

    यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

    आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् ।

    यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गरेको माओवादीले केन्द्रीय समितिमा २२ जनाको सहभागिता सुनिश्चित गरेको छ । लामो समयदेखि सामाजिक बहिस्करणमा पारिएको दलित समुदायलाई केन्द्रीय नेतृत्वमा ल्याउन लागिएको माओवादीको भनाइ छ । आयोगका अनुसार सो समूहमा पुरुषतर्फ सात जनामा एक युवा, महिला १२ जना र ४० वर्षभन्दा कम उमेर समूहका तीन जनाको प्रतिनिधित्व हुनेछ ।

    माओवादीले अल्पसङ्ख्यकको रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको छ । त्यसमा पुरुषतर्फ दुई निर्वाचित हुनेछन् । त्यसमा एक जना ४० वर्षमाथिका र अर्का एक ४० वर्षभन्दा कम उमेर समूहका छन् । मुस्लिम महिलातर्फ चार जना निर्वाचित हुँदा एक जना ४० वर्षभन्दा कम उमेर समूहको निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    मधेशीतर्फ कूल २३ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन् । त्यसमा पुरुषको सङ्ख्या सात रहने छ । त्यसमा पनि छ जना ४० वर्षमाथिका र एक ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । महिलातर्फ कूल १६ जना निर्वाचित हुनेछन् । त्यसमा १३ जना ४० वर्ष उमेर समूहभन्दा माथिका र तीन ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । आदिवासी जनजातितर्फ कूल ४३ जना निर्वाचित हुनेछन् ।

    त्यसमा पुरुषको सङ्ख्या १४ रहेको छ । त्यसमा पनि ११ जना ४० वर्षमाथिका रहँदा तीन भने त्यसभन्दा कम उमेर समूहका हुनेछन् । त्यस्तै कूल २९ जना महिला निर्वाचित हुनेछन् । थारू समुदायलाई माओवादीले १० सिट उपलब्ध गराएको छ । त्यसमा तीन पुरुषको सहभागिता रहनेछ । महिला कूल सात जना हुनेछन् ।

    अपाङ्गता भएकातर्फ कूल दुई जना निर्वाचित हुनेछन् । त्यसमा पुरुष र महिलाको प्रतिनिधित्व एक/एक जनाको हुनेछ । पिछडिएको क्षेत्रतर्फ पनि दुई जना निर्वाचित हुनेछन् । त्यसमा महिला र पुरुषको सङ्ख्या समान एक/एक छ । यस्तै खुलातर्फ कूल १४५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    माओवादीको आज पारित भएको विधानअनुसार पदाधिकारीको सङ्ख्या १५ हुने व्यवस्था गरिएको छ । त्यसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । कूल केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

    माओवादीले संविधानप्रदत्त अधिकारभन्दा पनि अगाडि बढेर सबै वर्ग तथा क्षेत्रको सहभागितालाई सुनिश्चित गरेको विधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिएका थिए ।

    इन्द्रेणीको सातै रङअनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरिएको र सबै वर्ग तथा क्षेत्रका अधिकारका लागि ‘जनयुद्ध’ को समयदेखि नै विशेष भूमिका प्रदान गरेको माओवादीको दाबी छ । महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकारसम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङको भनाइ थियो ।


    प्रकाशित : शनिबार, पौष १७ २०७८१०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार