काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेकाे छ ।
पार्टी नेतृत्वकाे आग्रहअनुसार केन्द्रीय निर्वाचन आयाेगले निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।
महाधिवेशनकाे पछिल्लाे अवस्था हेर्दा पार्टी अध्यक्षमा प्रचण्ड नै सर्वस्वीकार्य देखिएका छन् । उनले एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक काेषाध्यक्ष कसरी बनाउँछन् भनेर चासाेका साथ हेरिएकाे छ । माओवादीकाे विधानले १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समितिकाे व्यवस्था गरेकाे छ ।
माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ लगभग पक्कापक्की भएकाे छ । माओवादीमा लडाईं महासचिवमा रहेकाे छ । महासचिवमा नेता वर्षमान पुन र नेता जनार्दन शर्माले लबिङ गरिरहेका छन् । महाचिवमा पुन र शर्माकाे बिकल्पमा तेस्राे व्यक्तिकाे खाेजी गर्ने मनस्थितिमा प्रचण्ड पुगेका उनी निकटस्थ नेता बताउँछन् । उपाध्यक्षमा कृष्णबहादुर महरा, देवप्रसाद गुरूङ, पम्फा भुसाल, मातृका यादवलगायत नेताले दाबी गरेका छन् । सहमतिका लागि नेताहरू छलफलमा जुटेका छन् ।

