२०८३, कार्तिक १२ गते बिहीबार

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः अध्यक्ष प्रचण्ड

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • पौष १८, २०८१ बिहीबार

  • पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताएको छ ।

    जनसांस्कृतिक महासंघले बिहीबार गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उनले यस्तो जानकारी दिएको हो ।

    ‘आजदेखि निकै उत्साहपूर्णरुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’– अध्यक्ष प्रचण्डले भने– ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।’ 

    पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उनले यसले पार्टी भित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताए ।

    पार्टी र राज्य सत्ता दुबैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने पनि उनले स्पष्ट गरे । ‘राज्य सत्तामा अझै पनि एकीकृत, केन्द्रिकृत र एकल संस्कृतीय सोंच हावी छ’– अध्यक्ष प्रचण्डले भने– ‘हामीले जसरी राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौं तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानून निर्माणबाट मात्रै संभव हुने कुरा होइन, यो आम मानिसको सोंच र चिन्तनसँग पनि सम्बन्धित हुने भएकाले सोंच र चिन्तन बदल्न अझै धेरै मेहनत गर्न आवश्यक छ ।’

    पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उनले स्पष्ट गरे ।

    महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुले आफूहरुले गरेका सुधारका प्रयास र चुनौतीका बारेमा चर्चा गरेका थिए ।


    प्रकाशित : बिहीबार , पौष १८ २०८११०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार