दाङ । नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेको छ ।
माओवादी केन्द्रले तुलसीपुर नगरकमिटीले तुलसीपुरमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएको हो ।
अध्यक्ष प्रचण्डले भने -'यो पटक म देशभर अपिल र अनुरोध गर्न देशव्यापी अभियानमा लागेको छु । हामीलाई ६४ मा मत दिएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिएर बहुमत दिए भने ८४ मा हामी बहुमतमा आउनेछौं ।
त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छौं । सामाजिक विवेधको अन्त्य गर्नेछौं । न्याय स्थापित गर्नछौं । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईँहरुले जनयुद्धमा साथ दिए । शान्तिप्रक्रियामा साथ दिए ।
अब भ्रष्टाचार विरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईँमा तपाईँहरुको साथ चाहियो । तपाईँहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।'
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचार विरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको बताए ।
सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको अध्यक्ष दाहालले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले भने -' सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ । देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहेको छ ।'
माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले भने -'दुई ठुला कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो । त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भीम रावल, विन्दा पाण्डे, उषाकिरणलगायतलाई कारबाहीको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।'
माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिकरुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले बताए । विप्लवलगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्क संकेत गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियानलाई छिट्टै पूर्णता दिनेसमेत जानकारी दिए । 'माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं -' अध्यक्ष दाहालले भने ।
आफूले रोष्टमबाट यो सरकार सुशासनको डरले बनेको भनेर भनेको स्मरण गर्दै सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढङ्गले बनेको बताए । उनले भने -'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो । जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो ।
मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकै कारबाहीको प्रक्रिया अघि बढाए ।
अनुसन्धानमा खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भने । म चुनौतिका साथ भन्न चाहन्छु । अहिले सरकारको नेतृत्व गर्नेले मैले झैं आफैलाई अनुसन्धान गरेर देखाउनू ' ।

