२०८३, कार्तिक १२ गते बिहीबार

बिक्न छाडे ठेका र मदानी

बिक्न छाडे ठेका र मदानी


  • मेरोभ्यूज
  • माघ २८, २०८१ सोमबार

  • बिक्न छाडे ठेका र मदानी

    बेनी । सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा निरास बनेको छ ।

    बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेको छैन ।

    गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए ।

    “केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्याउनै कठिन हुने गर्थ्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेका र मदानीको बिक्री उत्तिधेरै भएको छैन”, उनले भने ।

    गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा सङ्कटमा पर्न थालेको छ ।

    काठको ठेकामा गाईभैँसीको दूध, दही र मोही सङ्कलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ । पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ ।

    गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई रु तीन हजारदेखि रु १५ हजारसम्म मूल्य पर्ने गर्छ ।

    बागलुङ नगरपालिका-१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएको छ । अहिले ६० वर्ष पुगेका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिकरूपमा ठेका बनाउन थालेको जानकारी दिए ।

    ”बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन”, चुदाराले भने ।

    चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकीका सामान बिक्री गर्न आउने गरेको छ ।


    प्रकाशित : सोमबार, माघ २८ २०८११०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार