काठमाडौं । सरकारले सिके राउत समूहले तराई मधेस क्षेत्रमा सुरक्षा चुनौती बढाएको निष्कर्ष निकालेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ उनले भने ।
बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अद्यावधिक छलफल भएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

