२०८३, कार्तिक १३ गते शुक्रबार

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’

    तनहुँ । जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो ।

    समाजले हालै प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो ।

    बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

    बजार क्षेत्रमा ठूला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनी प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उनको भनाइ छ ।

    प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ । प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिए ।

    आँबुखैरेनीका विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने

    आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबीच विद्यालयमा उक्त पुस्तिका समावेश गर्ने बारेमा सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क पुस्तिका-२०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको अध्यक्ष चुमानले जानकारी दिए ।

    यस पाठ्यपुस्तकले विद्यार्थीमा कानूनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उनले बताए ।

    उनले भने, “गाउँपालिकाले आगामी दिनमा प्रहरी र विद्यालयसँग सहकार्य गर्दै शिक्षालाई अझ सुरक्षित, सशक्त र जिम्मेवार बनाउने मार्गमा अघि बढेको छ ।”

    यो पाठ्यपुस्तकले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुवेदीले बताए ।

    आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार