मुस्ताङ । जिल्ला कारागारका कैदीबन्दीलाई कटाइसिलाइ तालिम दिन सुरु गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनाको कटाइसिलाइ तालिम सञ्चालन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा दस पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए ।
कारागारभित्र कुल १२ कैदीबन्दी रहेकोमा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनीले बताए ।
कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित कटाइसिलाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्तरुपमा तालिमको उद्घाटन गरे ।

