२०८३, कार्तिक १३ गते शुक्रबार

बङ्गुर पालेर स्वरोजगार

बङ्गुर पालेर स्वरोजगार


  • मेरोभ्यूज
  • जेठ १२, २०८२ सोमबार

  • बङ्गुर पालेर स्वरोजगार

    म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् ।

    मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेको हो ।

    “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु. १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपक्षी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठाए ।”

    उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेको छ । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् ।

    कृषक सापकोटाले प्रतिकिलो रु. छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु. सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।

    मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेको छ । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ ।

    फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन् ।

    “छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए”, तारानाथले भने, “पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।”

    सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरक-फरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्छन् । फार्मको फोहरलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको छ ।

    सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलो पटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो ।

    परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।

    सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो ।

    दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ ।

    बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ ।

    “घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ”, उनले भने, “विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बङ्गुरपालनबाट सन्तुष्ट छु ।”


    प्रकाशित : सोमबार, जेठ १२ २०८२१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार