२०८३, कार्तिक ११ गते बुधबार

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम


  • मेरोभ्यूज
  • जेठ १४, २०८२ बुधबार

  • ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

    म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराइ आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनिकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं. ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।

    समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आय-आर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

    बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिकरूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन ।

    “महिला आर्थिकरूपमा सक्षम भए भने हिंसा न्यूनिकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भइ समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,” उनले भनिन “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु. वीस लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं. १ र ५ मा लागू भएको छ ।”

    महिला आर्थिकरूपमा सक्षम भए भने हिंसा न्यूनिकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भइ समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताइन ।

    नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा एक सय २५ जनालाई च्याउ खेती, एक सय ३२ जनालाई धुप बनाउने र १७ जनालाई कटाइसिलाइ तालिम प्रदान गरिएको जानकारी दिइन ।

    च्याउ खेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, विउ, एक/एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने कटाइसिलाइ तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ । यसैबीच रत्नेचौरमा वीस जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ ।

    दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं. ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।

    गत २०८०/८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिकरूपमा बाजा बजाउन र वडा नं. २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् ।

    पुलाचौर आमा समूहका सचिव हीरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सीप सिकेको बताइन ।

    “पहिलो चरणमा सामूहिकरूपमा च्याउ र धुप उत्पादन गर्छौँ,” उनले भनिन “परीक्षण सफल भएपछि व्यक्तिगतरूपमा व्यवसायिक हिसाबले ब्यवसाय गर्ने योजना छ ।”


    प्रकाशित : बुधबार, जेठ १४ २०८२०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार