२०८३, कार्तिक ११ गते बुधबार

स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै


  • मेरोभ्यूज
  • आषाढ ६, २०८२ शुक्रबार

  • स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागतरूपमा पालिँदै आएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् ।

    पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् ।

    सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो ।

    गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो ।

    प्रतियोगितामा विजयी घोषित याकका पालकलाई रु. २८ हजार पाच सय ८८ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । सहभागी कृषकलाई प्रोत्साहनस्वरूप रु. आठ हजार पाच सय ८६ का दरले पुरस्कार वितरण गरिएको थियो ।

    जिल्लास्थित चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढ्नुका साथै चौँरी पालनमा हाकर्षण पैदा गरेको छ । “हामीजस्ता दुर्गम भेगका किसानलाई राज्यले सम्झिएको महशुस भयो”, उनले भने, “अब हामीलाई अझ थप चौँरीपालन गर्न हौसला मिलेको छ ।”

    गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि याकपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे । “हामीले परम्परागत ज्ञान र सिप जोगाउन यस्ता प्रदर्शनीहरू नियमितरूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ”, उनले भने ।

    याक प्रवर्द्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ ।

    “पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि-२०८१ बनाएर पारित गरिसकेका छौँ”, उनले भने, “यो कार्यक्रमले याकपालनको पुनरुत्थान र कृषकहरूको आम्दानी वृद्धिमा सहयोग पुर्याउनेछ ।” उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले रु. आठ लाख बजेट छुट्याएको छ ।

    अध्यक्ष लिम्बूले पछिल्लो समय याकपालन पेसाबाट कृषक क्रमशः पलायन हुन थालेपछि उनीहरूलाई पुनःआकर्षित गर्ने उद्देश्यले यो पहल गरिएको बताए ।

    याक प्रवर्द्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्द्धनका लागि रु. २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

    गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पुर्याउने बताए ।

    यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्द्धनमा चासो देखाउँदै रु. पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, “हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ ।”

    चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । हिउँदयाममा चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ । याकबाट मासु, दूध, घ्यू, रौँ (ऊन)लगायतका उत्पादन प्राप्त हुन्छन् । यसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, आषाढ ६ २०८२०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार