२०८३, कार्तिक ११ गते बुधबार

तनहुँको सामुदायिक वन सर्पगन्धाको खेती

तनहुँको सामुदायिक वन सर्पगन्धाको खेती


  • मेरोभ्यूज
  • भाद्र ३, २०८२ मंगलबार

  • तनहुँको सामुदायिक वन सर्पगन्धाको खेती

     

    तनहुँ । देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती शुरु गरिएको छ ।

    देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलो पटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपेका छन् ।

    उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु. चार लाख र सामुदायिक वन समूहले रु. एक लाख दस हजार लगानी गरेको समूहका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।

    सोही वडाकै चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् ।

    पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो ।

    देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नं. १ को सुनझाँक्री सामुदायिक वनले भने आफैँ उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ ।

    सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै व्यावसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको उनको भनाइ छ ।

    चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको जानकारी दिए ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले आम्दानीको विभिन्न स्रोत खोज्नुपर्ने बताए ।

    सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न सम्भव रहेको उल्लेख गए ।

    उनले भने, “यसअघि धेरैले झाडी ठानेर यसलाई मास्ने गरेका थिए । सर्पगन्धाको महत्व र उपयोगिताका बारेमा जानकारी गराएपछि सामुदायिक वनहरूले अहिले व्यावसायिक खेती गर्न थालेका छन् ।”

    दुई सयदेखि पाँच सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नं. १ र ५ बाहेक अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सम्भव नरहेको भट्टको भनाइ छ ।

    सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधिका रूपमा यसलाई प्रयोग गरिने उनले उल्लेख गरे ।

    देवघाटमा पहिलो पटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा रु. ५० का दरले खरिद गरिएको उनले बताए ।

    सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो ।

    यसको निकासी भन्सार दर नै प्रतिकेजी रु. ५० तोकिएको छ । यसको राम्रो संरक्षण गर्नसके दुई वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्र वार्षिक लाखौँ रुपैया आम्दानी लिनसक्ने बताइएको छ ।


    प्रकाशित : मंगलबार, भाद्र ३ २०८२१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार