२०८३, कार्तिक ११ गते बुधबार

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन


  • मेरोभ्यूज
  • भाद्र १९, २०८२ बिहीबार

  • म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

     

    म्याग्दी । म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार आठ सय वीस हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र किराको समस्या नदेखिएकोले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

    उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक हजार सात सय ५० हेक्टरमा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

    केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु. दस करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु. ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ ।

    नियमित वर्षा भएकोले सिँचाइ, मौसम अनुकूल र रोग किरा नदेखिएकोले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताए ।

    उनका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकोले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ ।

    अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ ।

    सवारीसाधनको पहुँच पुगेपछि गाउँ-गाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो ।

    गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

    कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु. ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ ।

    म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं. ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।


    प्रकाशित : बिहीबार , भाद्र १९ २०८२११:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार