काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यसवर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।
गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।
विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघे संक्रान्ति मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन् ।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दे उनले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छिन् ।
साथै उनले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आव्हान गरेकी छिन् ।
कोरोना नियन्त्रणमा एकताबद्ध हुन माघीले ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन् । माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड–१९) को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गरे।
माघेसंक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न सबै नेपालीलाई एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ । उनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।
देउवाद्वारा सुख, शान्ति र दीर्घायूको कामना
प्रधानमन्त्री शेरबहादुर देउवाले माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।
थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ । हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन् ।
माघे संक्रान्तिले नेपालीपनको रक्षा गरेको सभामुखको भनाइ
सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”
सभामुखले २०७८ सालको माघीरमाघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।
पर्व सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणः प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् ।
थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताएका छन् ।
समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिल्ने नेता नेपालको विश्वास
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको महान् चाड माघी तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने मकर संक्रान्ति २०७८ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना गरेका छन्।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गर्दै उनले यी चाडपर्वहरुले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

