२०८३, कार्तिक १३ गते शुक्रबार

स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

     

    बेनी । म्याग्दीको बेनी नगरपालिका-५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् ।

    समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका सयवटा स्याउका बोटमध्ये अधिकांशले फल दिन शुरू गरेको स्थानीय नीलकण्ठ शर्माले बताए ।

    “गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणका रूपमा शुरू गरेको स्याउखेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिकरूपमा विस्तारमा लाग्छौँ”, शर्माले भने ।

    मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका बिरुवा ल्याएर लगाएकोमा अधिकांश बोटले उत्पादन दिन शुरू गरिसकेका छन् ।

    गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिकरूपमा विस्तार गर्ने स्थानीयको योजना छ ।

    गाउँमा स्याउखेतीको परीक्षण सफल भएकोले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गङ्गादक्त पौडेलले बताए ।

    “पाँचवटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किदै जाँदा उत्पादन दिन शुरू गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु”, पौडेलले जानकारी दिए ।

    गाजने गाउँमा यसअघि वि.सं. २०४२ मा समेत स्याउखेती गरिएको थियो । सार्वजनिक पाखोमा सामूहिकरूपमा गरिएको स्याउखेती तत्कालीन समयमा मलजल र स्याहारको अभावले मासिएको थियो ।

    चिसो हावापानी रहेकोले यस क्षेत्रमा स्याउखेतीको सम्भावना रहेको छ । अन्नबाली लगाउनका लागि श्रमशक्तिमा लगानी धेरै र उत्पादनबाट लाभ कम हुने भएकोले स्याउखेतीलाई गाजनेका स्थानीयले अन्नबालीको विकल्पमा व्यावसायिक खेतीको रूपमा स्याउखेती गर्ने तयारी गरेका छन् ।

    म्याग्दीमा यसअघि गुर्जा र राम्चेमा परीक्षणको रूपमा स्याउखेती गरिएको छ । हिउँदयाममा हिमपात हुने भू–भागमा स्याउखेती फस्टाउने कृषि प्राविधिक बताउँछन् ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार