२०८३, कार्तिक १३ गते शुक्रबार

झोलुङ्गे पुल हेर्नेको लर्को

झोलुङ्गे पुल हेर्नेको लर्को


  • रासस
  • माघ ४, २०७८ मंगलबार

  • झोलुङ्गे पुल हेर्नेको लर्को

    महोत्तरी । सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।

    “मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि । त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्”, नगरपालिकाका उपप्रमुख शिवोदेवी साह भन्छिन्, “थपमा हिँडडुल सहजताको खुसी पनि सर्वसाधारणमा देखिएको हो ।” मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन–जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ ।

    नदीवारि मुख्य तरकारी बालीको पकेट क्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पुर्याउन सहज भएको किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्हीपारि धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।

    “यो झोलुङ्गे पुल नयाँ कुरा लागेर मात्र हेर्ने भीड देखिएको होइन” मटिहानी–६ मटिहानी बस्तीका किसान नूरमोहम्मद राइन भन्छन्, “घर–खेत आउन जान एवं फसल र बजार जोड्न पुलले ठूलो काम गर्यो, आम किसान यो खुसी साट्न पुल सञ्चालन भएको हेर्न आएका हुन् ।” सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटनको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनको भनाइ छ ।  

    नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी रु ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो । यो पुल ३२ मिटर लम्बाइ र एक दशमलव पाँच (१.५) मिटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । झोलुङ्गे पुलमा हिँड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ । 


    प्रकाशित : मंगलबार, माघ ४ २०७८०३:५७
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार