काठमाडौं । सरकारले खोप अभियान सञ्चालन गर्न माघ १५ गतेपछि ४ दिन विद्यालय खोल्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्ने निर्णय गरेको हो ।
बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति जुटेको छ ।
सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडँडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित वर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको छ ।
‘यही माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौँ सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’
बैठकले विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य ‘अट्याच’ गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । ‘राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउने कार्य अत्यावश्यक परेकालाई बाहेक तत्कालका लागि स्थगत गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय भएको छ,’ सहसचिव कोइरालाले भने ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने, विदेशबाट नेपाल भित्रने नाकामा एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा गृहमन्त्री खाणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका थिए । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उनले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन दिए ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतको उपस्थिति थियो ।

