२०८३, कार्तिक ११ गते बुधबार

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै


  • मेरोभ्यूज
  • मंसिर १४, २०८२ आइतबार

  • शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

     

    कञ्चनपुर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् ।

    दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य थिए । चार वर्षको उमेरमा उनी बिरामी भए । त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त छन् ।

    उनलाई शरीरले साथ नदिए पनि मन र सिप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका दानबहादुरले हार मान्नु भएन ।

    उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदा-धाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गरे ।

    अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछन् । उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनेको छ ।

    “घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भनिन्, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।”

    दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ ।

    सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो ।

    “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उनलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सिपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भनिन् ।

    “अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भने, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।”

    उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सिपलाई व्यवसायिक बनाउन नसकेको जानकारी दिए ।

    “थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भने, “अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उनले भने ।

    पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरु मात्रै होइन, प्रेरणाको स्रोत बनेको छ ।


    प्रकाशित : आइतबार, मंसिर १४ २०८२१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार