२०८३, कार्तिक १३ गते शुक्रबार

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत


  • मेरोभ्यूज
  • माघ ६, २०७८ बिहीबार

  • रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

    काठमाडौं । रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतवासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । 

    दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको स्वागतका लागि विमानस्थल पुगेका थिए । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारका रुपमा पहिलो चरणमा ९९ नेपाली श्रमिक बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, नेपालका लागि इजरायली राजदूत होनान गोदारलगायत मन्त्रालयका उच्चअधिकारीले बिदाइ गरेका थिए । 

    एक दशक लामो प्रयासपछि पुनः नेपाली श्रमिक रोजगारीका लागि इजरायल पुगेका हुन् । केही वर्षअघिसम्म निजी क्षेत्रमार्फत रोजगारीका लागि नेपालीहरु इजरायल पुग्ने गरेकामा उक्त प्रक्रिया रोकिएपछि सरकारीस्तर (जिटुजी) बाट नेपाली श्रमिक लैजाने सरकारको प्रयासले सार्थकता पाएको हो । 

    नेपाली श्रमिकलाई इजरायली श्रम बजारमा सरकारीस्तरबाट प्रवेश दिलाउन त्यहाँस्थित नेपाली दूतावासले निकै ठूलो पहलकदमी लिएको थियो । दूतावासको निरन्तरको प्रयासपछि गतवर्ष नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । 

    इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउनेसम्बन्धी ‘प्रोटोकल’ मा हस्ताक्षर भएपछि पहिलो चरणमा छनोट गरिएका एक हजार बढी नेपाली रोजगारीका लागि इजरायल जाने क्रम शुरु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक बुधबार राति इजरायल प्रस्थान गरेका हुन् ।

    वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । 

    छनोटका क्रममा रहेका अन्य नेपाली श्रमिकको करार सम्झौतामा हस्ताक्षर, कोरोनाविरुद्धको खोप लगाउने, प्रवेशाज्ञा र पूर्वप्रस्थान अभिमुखीकरणको काम भइरहेको श्रम मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा यही माघको तेस्रो साता केही नेपाली श्रमिक इजरायल जानेछन् । छनोट भएका अन्य नेपाली श्रमिक क्रमिकरुपमा त्यसतर्फ प्रस्थान गर्नेछन् । 

    नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ । रासस


    प्रकाशित : बिहीबार , माघ ६ २०७८०८:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार