काठमाडाैं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेर कामदारको ज्याला बढाएकाे हाे ।
निर्देशिका संशोधनमा पारिश्रमिक वृद्धि र अनिवार्य रूपमा कामदारको बीमा पनि गरेको हुनुपर्ने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
गत पुष महिनामै मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले बताए ।
कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई दिने गरिएको रोजगारीको पारिश्रमिक कम भएको भन्ने धेरै गुनासो स्थानीय तहबाट आएपछि निर्देशिका संशोधनको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पठाइएको उनको भनाइ छ ।
सरकारले तोकेको दैनिक ज्यालादर ५ सय ७७ रुपैयाँ न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी स्थानीय तहको दररेटमा ८० प्रतिशतमा कम नहुने गरी भुक्तानी हुनेछ । गत साउनबाट सरकारले बढाएको न्यूनतम ज्यालाको दरअनुसार ज्यालादर निर्धारण गरिएको घिमिरेले बताए ।
‘यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सहभागी भएका बेरोजगार युवाले दैनिक रूपमा ५ सय १७ रुपैयाँ ज्याला पाउने गरेका थिए । यसअघिको तुलनामा चालु आर्थिक वर्षदेखि दैनिक रूपमा ६० रुपैयाँ ज्यालादर वृद्धि भएको छ’, उनले भने, ‘निर्देशिकामा श्रमिकको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको दरमध्ये जुन बढी हुन्छ, सोही आधारमा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
बेरोजगार युवालाई दिइने ज्याला दर न्यून रहेको भन्दै केही समयअघि अर्थमन्त्री जनादर्न शर्माले दैनिक ज्यालादर रकम दोब्बर बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएका थिए । सोही अनुसार ज्याला वृद्धि भएको श्रम मन्त्रालयले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा यो कार्यक्रम अघि सारिएको हो । बेरोजगार युवालाई वार्षिक कम्तीमा पनि १०० दिनको रोजगारी दिने गरी योजना थियो ।
सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकेको छ । यो व्यवस्थाअनुसार श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ ज्याला पाउँछन् । अघिल्लो वर्ष सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मात्र तोकेको थियो ।
पाँच लाखको बीमा अनिवार्य
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको पाँच लाखको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका निर्देशक घिमिरेले जानकारी दिए ।
निर्देशिकाअनुसार श्रमिकको बढेको ज्याला र बीमा चालु आर्थिक वर्षबाट लागु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बीमाका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष बीमाका लागि एक करोड ९९ लाख रकम रुपैयाँ विनियोजन गरिएको थियो ।
नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका १०० दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा पाउने व्यवस्था भएको निर्देशक घिमिरेले बताएका छन् ।
चालु आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा श्रम मन्त्रालयका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा देशभरबाट सात लाख ४३ हजार ८१ हजार युवा बेरोजगार सूचीमा सूचीकृत भएका छन् ।

