२०८३, कार्तिक १३ गते शुक्रबार

महोत्तरीमा स्रोत नखुलेको ५० लाखसहित पाँच पक्राउ

महोत्तरीमा स्रोत नखुलेको ५० लाखसहित पाँच पक्राउ


  • रासस
  • माघ ८, २०७८ शनिबार

  • महोत्तरीमा स्रोत नखुलेको ५० लाखसहित पाँच पक्राउ

    जलेश्वर । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० रुपैयाँ र १५ लाख ३६ हजार रुपैयाँ बराबरको चेक, दुई हजार जाली नोट र नक्कली नोट बनाउने कागजसहित पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले यही माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत दशगजा क्षेत्रबाट मटिहानी नगरपालिका–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

    त्यस्तै, सोही दिन जलेश्वर नगरपालिका–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरअगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मीनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० रुपैयाँ र ५०० र १०० रुपैयाँका नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।

    त्यसैगरी, माघ ६ गते मटिहानी नगरपालिका–३ स्थित पेट्रोलपम्पअगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालयअगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत, विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड सहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।

    महोत्तरीमा करिब ३८ किमि नेपाल–भारतको खुला सिमानाका कारण अवैध रूपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जिल्लाको भारतीय सीमानाका तथा कुनै पनि नेपाली गाउँसहरमा त्यस्ता कारोबार गर्नेलाई प्रहरीले सूक्ष्म तरिकाले खोजतलास तथा अनुसन्धान गरेर पक्राउ तथा कारबाहीका लागि तीव्रता दिएको बताए । 


    प्रकाशित : शनिबार, माघ ८ २०७८०९:४१
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार