२०८३, कार्तिक १४ गते शनिबार

कोरला नाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नतो गरिँदै

कोरला नाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नतो गरिँदै


  • मेरोभ्यूज
  • आषाढ १४, २०८३ आइतबार

  • कोरला नाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नतो गरिँदै

     

    मुस्ताङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङखण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नती गरिरहेको छ ।

    हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    नौ दशमलव आठ किलोमिटर रहेको उक्तखण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

    आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।

    नेपाल-चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो ।

    मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको असार २६ मा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु. २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ ।

    उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नतो गर्ने गरी दुई वर्षमा सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

    ठेक्का सम्झौताअनुसार कागबेनी-छुसाङ सडक वि.सं. २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

    गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नती कार्य चालु आ.व.को साउनदेखि शुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले जानकारी दिए ।

    आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम शुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको जनाए । उनका अनुसार निर्माणाधीन कागबेनी-छुसाङखण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ ।

    करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उनले जानकारी दिए ।

    कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्ट्रक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए ।

    सडक स्तरोन्नतिका लागि उक्तखण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उनले बताए ।

    सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।

    इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी-तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार कागबेनी-छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ ।

    “सडकको स्ट्रक्चर निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौँ, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ”, प्रतिनिधि श्रेष्ठले भने, “हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने भनेको सात महिना मात्रै हो ।”

    यहाँको बारागुङ मुक्तिक्षेत्र-३ स्थित कागबेनी-छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आंशिक क्षति पुर्‍याएको थियो ।

    बाढी पहिरोले उक्त सडकको केही स्थान भाँसिएको छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ ।

    नेपाल-चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यसहित छुसाङ-घमी र घमी-कोरलाखण्डलाई दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडकमा कालोपत्रका लागि बजेट विनियोजन हुन सकेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे ।

    आयोजनाले छुसाङ-कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब रु. पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।


    प्रकाशित : आइतबार, आषाढ १४ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार