२०८३, कार्तिक १४ गते शनिबार

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी


  • मेरोभ्यूज
  • आषाढ १६, २०८३ मंगलबार

  • किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

     

    नुवाकोट । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर शुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् ।

    मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको कोर्स पूरा गर्न रु. एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको छ ।

    किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापित सो शिक्षालयले पहिलो ब्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसी मात्र भर्ना गरेको थियो ।

    दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्णरुपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुने गरी भर्ना गरेको छ ।

    सातै प्रदेश र ३१ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको छ । गृह जिल्ला नुवाकोटका ३० प्रतिशत र बाँकी अन्य जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहँदा किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ बन्न पुगेको छ ।

    यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन् । केहीले शिक्षालय वरपर डेरा लिएका छन् ।

    प्राविधिक शिक्षालयमा स्वास्थ्य सहायक (एचए)मा अध्ययनरत सङ्खुवासभाकी सङ्गिता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियङ्का यादव, सर्लाहीका अर्पितकुमार दास र रौतहटकी आकृति चौधरी विभिन्न जिल्लाबाट जोडिए पनि आफूहरु अब एकै शिक्षालयको शिक्षार्थी भएकामा खुसी देखिन्छन् ।

    यस्तै बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी मात्र होइन डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ यसरी धेरै जिल्लाबाट आएका साथीहरुसँग आफूहरुको सांस्कृतिक सिकाइ पनि भएको बताउँछिन् ।

    डिप्लोमा इन फार्मेसी अध्ययनरत अछामका नविन बयक र एचए दोस्रो वर्षमा अध्ययनरत सुर्खेतका पवन बरालले प्राविधिक शिक्षा पढाइसँगै नयाँ-नयाँ साथीहरु बनेकामा फरक अनुभूति गरेको बताए ।

    रोचक कुरा, यही शिक्षालयमा पिता डिल्ली ढकाल र छोरी सलिना ढकाल फार्मेसीको विद्यार्थीका रुपमा छन् ।

    नुवाकोटको लिखु गाउँपालिका–२, ढिकुरे निवासी ढकाल पढाइ पूरा गरेर गाउँमै फार्मेसी खोल्ने योजनामा रहेको छ ।

    “ग्रामीण भेगमा पनि यस प्रकारको शिक्षा उपलब्ध हुनु हाम्रा लागि राम्रो कुरा हो”, डिल्ली ढकालले भने ।

    कैलालीको घोडाघोडी नगरपालिका–२ बाट किस्पाङमा प्राविधिक शिक्षा हासिल गर्न आएका शैलेश गिरी भौगोलिक दूरी टाढा भए पनि शुलभरुपमा पढ्न पाइने भएकाले यहाँ आएको बताउँछन् ।

    गिरीसँगै शिक्षालयमा १७ विद्यार्थी भक्तपुरको गठ्ठाघरस्थित लोमस फर्मास्युटिकल्समा प्रयोगात्मक अभ्यासका लागि खटिएका छन् । तीमध्ये गिरीसहित केहीले अहिले नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालमा प्रयोगात्मक काम गरिरहेका छन् ।

    नुवाकोटकै सूर्यगढी–५ की विद्यार्थी अञ्जली गिरी शिक्षालयमा छात्राका लागि व्यवस्थित र सुरक्षित आवास रहेको बताउँछिन् । किस्पाङ–१, भाल्चेका रुवन तामाङ समग्रमा शिक्षालयको पढाइ राम्रो रहेको प्रतिक्रिया दिन्छन् । उनीहरु दुवैले पढाइ सकेर मेडिकल खोल्ने तयारी गरेको छ ।

    शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार देशको समग्र झलक शिक्षालयमा पाइन्छ । शिक्षालयमा पहिलो वर्षमा सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा ४०/४० विद्यार्थी रहेकामा छात्रवृत्तिमा अध्ययन गर्ने तीन विद्यार्थी छन् ।

    प्रदेश अनुसार सामान्य चिकित्सातर्फ छ प्रदेशका विद्यार्थी र डिप्लोमा इन फार्मेसीतर्फ सातै प्रदेशका विद्यार्थी छन् ।

    विभिन्न विषय र वर्षमा गरेर बारा, रौतहट, पर्सा, सर्लाही, बझाङ, बाजुरा, धादिङ, दोलखा, हुम्ला, कालिकोट, नुवाकोट, रसुवा, रोल्पा, सङ्खुवासभा, बैतडी, बाजुरा, बर्दिया, धादिङ, हुम्ला, कालीकोट, कञ्चनपुर, नुवाकोट, ओखलढुङ्गा, रौतहट, सर्लाही, सिन्धुली र तनहुँका विद्यार्थी अध्ययनरत छन् ।

    दोस्रो वर्षमा प्रदेशगतरुपमा बागमतीका २७, गण्डकीका एक, कर्णालीका १७, मधेसका २६ र सुदूरपश्चिमका चार विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा विभिन्न प्रदेश र जिल्लाका गरी १७ विद्यार्थी छन् ।

    “होस्टेल सुविधाका साथै शिक्षालयमै उत्पादन गरिएको अर्गानिक तरकारी प्रयोग गरेर विद्यार्थीलाई गाउँघरको अनुभूति दिइएको छ ।”

    शिक्षालय प्रमुख न्यौपानेले भने, “हामीले समय-समयमा अतिथिलाई कक्षा दिलाउनका साथै खेलकूद सप्ताह, हाजिरीजवाफ, वक्तृत्वकला, सरस्वती पूजा, वनभोज, नारी दिवस तथा होली उत्सवजस्ता कार्यक्रम गर्दै आएका छौँ । यसले विद्यार्थीमा उत्साह पैदा गरेको छ ।”

    गाउँपालिकाका अध्यक्ष एवं शिक्षालय सञ्चालक समितिका अध्यक्ष वीरवल तामाङ ३१ जिल्लाका विद्यार्थी आएर पढ्नु भनेको किस्पाङको पानीलाई ती विद्यार्थीहरुले प्रसादका रुपमा लिन पाएको अवसरका रुपमा आफूहरुले लिएको बताउँछन् ।

    गाउँपालिकाको आय विस्तार र राष्ट्रका लागि उद्यमशीलताको विकासमा शिक्षालय एक कोसेढुङ्गा हुने उनले बताए ।

    यसलाई आफूहरुले सेवाका रुपमा लिएको र पर्यटकीय विकासका लागि पनि आधार हुने तामाङले विश्वास व्यक्त गरे ।

    गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु र विद्यार्थीहरुबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त हुनुले शिक्षालयको भविष्य उज्वल रहेकामा सन्देह नरहेको बताउँछन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा शहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि रु. एक करोडको निर्माण कार्य भएको सो शिक्षालयमा आर्थिक वर्ष २०८२/०८३ का लागि सोही मन्त्रालयले रु. तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ ।

    उनले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालालगायत पूर्वाधार विकास गरी शिक्षालयलाई नमूना बनाइने बताए ।

    दक्ष र अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन भइरहेकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा पढेका डा.आशिष दाहाललगायत सात पूर्णकालीन शिक्षक, पाँच कर्मचारी र १३ अल्पकालीन कर्मचारी कार्यरत छन् ।

    शिक्षालयमा पुस्तकालयमा पर्याप्त पुस्तकका साथै आधुनिक एवं सुविधा सम्पन्न कम्प्युटर, आवश्यक प्रयोगशाला उपकरण र रसायन सामग्री उपलब्ध छन् ।


    प्रकाशित : मंगलबार, आषाढ १६ २०८३०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार