२०८३, कार्तिक १४ गते शनिबार

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम


  • मेरोभ्यूज
  • आषाढ १६, २०८३ मंगलबार

  • मकैको खोस्टा उपयोगका लागि तालिम

     

    तनहुँ । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ ।

    यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा यहाँ सुरु भएको पाँचदिने तालिममा ४० जना महिला सहभागी छन् ।

    तालिममा सहभागीहरूलाई मकैको खोस्टा उपयोग गर्न विभिन्न आकारमा मोड्दै, गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराइँदैछ ।

    वडाध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमपछि व्यावहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उनले बताए । “सीप सिकेर मात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ । यस कार्यमा सहयोग गर्छौं”, वडाध्यक्ष रानाले भने ।

    व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताए । उनले स्थानीयस्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गरे ।

    महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्ने बताइन् । “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ । त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मनिर्भर बन्न आवश्यक छ”, उनले भनिन् ।

    वडासचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन् । यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सृजना गर्ने उनको भनाइ थियो ।

    जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।

    सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरी तालिम दिन थालिएको बताइन् । यस तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिएका छन् ।

    -----


    प्रकाशित : मंगलबार, आषाढ १६ २०८३१०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार