२०८३, कार्तिक १४ गते शनिबार

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय


  • मेरोभ्यूज
  • आषाढ १७, २०८३ बुधबार

  • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

     

    बागलुङ । बसाइँ-सराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो ।

    दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले ।

    अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

    बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकर्षित हुँदै गएका छन् । सात वर्ष अगाडि शुरु गरेको चियाखेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन शुरु गरेका छन् ।

    बसाइँ-सराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसीमात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्याउन थालेको छ ।

    वि.सं. २०७६ मा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षणका लागि लगाइएको थियो । शुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन ।

    कतिपयले त ‘नहुने काम गर्न थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताए । अहिले अघिल्लो वर्षको तुलनामा धेरै उत्पादन भएको छ ।

    शुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती शुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछानेले बताए ।

    उनले भने, “चियाखेती फष्टाएपछि हामी निकै उत्साहित भएका छौँ, हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ, पैसा फल्न थालेको छ, हामीले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ, चियाले अब बसाइँ-सराइ पनि रोकिने अपेक्षा लिएका छौँ, अहिले व्यक्तिगतरूपमा धेरैले चियाका बिरुवा लगाउन थालेका छन् ।”

    रेश साना किसान सहकारी संस्थामार्फत चियाखेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुई पटक टिपेको भन्दै प्रतिकिलो रु. दुई हजारमा बिक्री हुने गरेको छ । यस वर्ष रु. २० लाखको चिया बिक्री हुने अपेक्षा छ ।

    रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताए ।

    उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउँछन् ।

    अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडालगायत तीन सय रोपनी क्षेत्रमा चियाखेती गरिएको अध्यक्ष शर्माले जानकारी दिए । चियाखेतीमा गाउँका करिब दुई सय ८० परिवार आबद्ध छन् ।

    जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताए । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उनको भनाइ छ ।

    चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताए ।


    प्रकाशित : बुधबार, आषाढ १७ २०८३०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार