२०८३, कार्तिक १४ गते शनिबार

गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो

गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो


  • मेरोभ्यूज
  • आषाढ १७, २०८३ बुधबार

  • गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो

     

    म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ । सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याएर आकर्षक र सुविधा सम्पन्न बनाउन थालिएको हो ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना निर्माण गरी कार्यान्वयन थालिएको हो ।

    गत मङ्सिरमा रु ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको रिभर इडेग इञ्जिनियरीङ एण्ड बिल्डर्सले लक्ष्यअघि नै योजना सम्पन्न गरेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

    यस वर्ष गलेश्वर मन्दिरको प्रवेशद्वारबाट बसपार्कतर्फ २९५ मिटर दूरीमा स्लेट बिछ्याइएको बेनी नगरपालिकाका सबइञ्जिनियर मिलन केसीले जानकारी दिए । गत वर्ष गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको थियो ।

    “गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो”, वडाध्यक्ष केसीले भने, “गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा योजना सञ्चालन गरिएको हो ।” उनका अनुसार सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रको विकल्पमा दुई इन्च बाक्लो कटिङ्ग ढुङ्गा बिछ्याएर सिमेन्टले जमाइएको छ ।

    मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइँ लम्बाउने उद्देश्यले सौन्दर्यकरण सुरु गरिएको वडाध्यक्ष केसीले बताए । गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातलाई बजार बाहिरको कालीगण्डकी कोरिडोर खण्डबाट मात्र आवतजावतको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी, बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचनाको डिजाइन गरिएको सबइञ्जिनियर केसीले जानकारी दिए ।

    कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटा विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

    हिन्दू धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने गर्दछ । दैनिक नित्य पूजाआजा हुने गर्दछ ।

    -----


    प्रकाशित : बुधबार, आषाढ १७ २०८३१०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार