२०८३, कार्तिक १४ गते शनिबार

सडक सञ्जालमा जोडियो अपि

सडक सञ्जालमा जोडियो अपि


  • मेरोभ्यूज
  • आषाढ १८, २०८३ बिहीबार

  • सडक सञ्जालमा जोडियो अपि

     

    दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं. ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकाहरूलाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।” सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमिकतामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।

    “सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए । अपिमा ढुवानीका कारण स्थानीयले समस्या झेलेका थिए । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न रु १० प्रति किलो ढुवानी लाग्थ्यो”, स्थानीय खडक रोकायाले भने, “सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुनेछ ।”

    अपिहिमाल गाउँपालिका-५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको उनको भनाइ छ ।

    स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् ।

    गाउँपालिका केन्द्र वडा नं. ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं. ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू-भाग नहुँदा पनि सडकले गति लिनेछ ।

    अपिहिमाल-१ र २ मा सडक सञ्जालले तत्कालै जोडिने सम्भावना छैन । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाका लागि राहत हुने स्थानीय बताउँछन् ।

    सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आर्थिक वर्षमा पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

    सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो । सडक विस्तारसँगै अब विकास निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।

    अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिनेछ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । “शीघ्र पालिका मुकाममा सडक पुग्नेछ”, उनले भने, “नयाँ आर्थिक वर्ष (आगामी आर्थिक वर्ष) अपिहिमालको विकासका लागि महत्त्वपूर्ण वर्ष सावित हुनेछ ।”

    अध्यक्ष बोहराका अनुसार पारिवगर-मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिनेछ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ ।

    अपिहिमाल-४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उनले आगामी आर्थिक वर्षमा सडक निर्माण पालिका केन्द्रसम्म पुग्ने बताए ।”

    -----


    प्रकाशित : बिहीबार , आषाढ १८ २०८३१०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार