भक्तपुर । एक विद्यालय : एक स्काउटर, एक घर : एक स्काउट भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मध्यपुर स्काउटले आफ्नो रजत महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
मध्यपुर थिमिमा शनिबार विशेष कार्यक्रम आयोजना गरी स्काउटले आफ्नो रजत महोत्सव मनाएको हो ।
समारोहमा सदस्यता वृद्धि आयुक्त भुवनचरण श्रेष्ठले मध्यपुर स्काउटको स्थापना, विकासक्रम र गतिविधिबारे जानकारी दिँदै यसको भूमिका समाजमा अझ बढ्दै गएको बताए ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्काउटले अनुशासन, नेतृत्व विकास र सामाजिक सेवाको भावना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको प्रभावकारिताले समाजमा सकारात्मक प्रभाव परेको जनाए ।
त्यसैगरी स्थानीय प्रमुख आयुक्त तुल्सीहरि प्रजापतिले मध्यपुर स्काउटको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘स्काउटमय मध्यपुर’ अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा मध्यपुर स्काउटको विकासमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा संघ/संस्थालाई सम्मान तथा १५ वर्ष भन्दा बढी समयदेखि स्काउट अभियानमा सक्रिय स्काउटरहरूलाई नेपाल स्काउटको ‘दीर्घ सेवा पदक’ प्रदान गरी सम्मान गरिएका थिए ।
यसैबीच कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नेपाल स्काउटका निर्देशक अर्पण कार्की, नगर उपप्रमुख तथा प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठलगायत स्थानीयस्तरमा सक्रिय युवा, समाजसेवी र विद्यार्थिहरूको उपस्थिति रहेको थियो ।

